
काठमाडौं। इंग्लिस प्रिमियर लिगको उपाधि दौड फाइनल चरणतर्फ अघि बढ्दै गर्दा लिभरपुलले तालिकामा सात अंकको अग्रता बनाएको छ ।
गएराति भएको खेलमा लिभरपुलले, उल्भ्समाथि दुई–एक गोलको जित हात पा¥यो । तर एनफिल्डमा लिभरपुलले आफ्नो क्षमताअनुसारको प्रदर्शन भने गर्न सकेन । डिएगो जोटाले खेल सुरु भएलगत्तै लिभरपुलका लागि गोल गर्ने मौका पाएका थिए । तर सफल हुन सकेनन् ।
१५औँ मिनेटमा लुइस डियासले मोहम्मद सलाहको पासमा गोल गर्दै घरेलु टिमलाई एक–शून्य गोलले अघि बढाए । योसँगै कोलम्बियन फरवार्डले दश खेलदेखिको गोलको खडेरी पनि तोडे । ३७औँ मिनेटमा लिभरपुलले पेनाल्टी प्राप्त ग¥यो । डियासलाई उल्भ्सका गोलकिपरले फाउल गरेपछि पाएको पेनाल्टिलाई सालाहले गोलमा परिणत गरे । उनको सिजनको यो २३औँ लिग गोल हो । ब्रकेअघि लिभरपुल दुई–शून्यको अग्रता अग्रता बनाउन सफल भयो ।
दोस्रो हाफमा भने उल्भ्सले आर्ने स्लटको टिममाथि दबाब बनाउँदा घरेलु समर्थक चिन्तित बनेका थिए । ६७औँ मिनेटमा उल्भ्सका म्याथ्युज कुन्ह्याले गोल गर्दै लिभरपुलसँगको दूरी कम गरे । मार्शल मुनेट्सी वान भर्सेस वानमा चुक्दा लिभरपुल भाग्यमानी सावित भयो । उनको प्रहारलाई गोलकिपर एलिसनले सफल हुन दिएनन् ।
दोस्रो हाफमा भने लिभरपुलले उल्भ्सको पोस्टमा आक्रमण गर्न सकेन । ओप्टाका अनुसार सन् २००३–४ यता पहिलोपटक लिभरपुल प्रिमियर लिगमा ब्रेकपछि आक्रमण गर्न असफल भएको हो । यद्यपि, मुख्य प्रशिक्षक स्लटले फरक ढंगबाट आफ्नो टिमले जित हात पारेको भन्दै खुशी व्यक्त गरे । लिगमा अब १३ खेल बाँकी छन् ।
लिभरपुल २५ खेलबाट ६० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको आर्सनलको ५३ अंक छ । उल्भ्स १९ अंक जोड्दै १७औँ स्थानमा छ ।