
काठमाडौं। चार राष्ट्र सम्मिलत अन्तर्राष्ट्रिय महिला च्याम्पियसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । घरेलु टिम नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र कीर्गिस्तानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यी दुई टिम ६ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि नेपालले कीर्गिस्तानमाथि जीत हात पारेको थियो । तर, नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अहिले कीर्गिस्तानमा धेरै परिवर्तन भएको भन्दै कमजोर नआक्ने बताए ।
च्याम्पियिनसिपका लागि ग्रिसमा व्यवसायिक फुटबल खेलिरहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा र दुबईबाट फरवार्ड रेखा पौडेल फर्किएका छन् । फ्रान्सबाट सावित्रा भन्डारी आज बिहान काठमाडौं आइपुग्ने छिन् । प्रशिक्षक तामाङले आजको खेलमा सावित्रालाई आराम दिनसक्ने सम्भावना छ । घरेलु मैदानमा गत कार्तिकमा भएको साफ च्याम्पियनपसप फाइनलमा बंगलादेशसँग पराजय भएपछि तामाङले पदबाट राजीनामा दिएका थिए । अहिले पुनः मुख्य प्रशिक्षकको भूमिकामा फर्किएका तामाङले आफुसँग उत्कृष्ट फरवार्ड रहेको बताए ।
एन्जिलाले यो प्रतियोगितालाई साफमा गरेको गल्ति सच्याउँदै घरेलु मैदानमा उपाधि जित्ने अवसरका रुपमा लिएको बताएकी छिन् । उनले डिफेन्स र गोलकिपिङ सुधारमा अभ्यास केन्द्रित गरेको पनि जानकारी दिइन् । साफपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
कीर्गिस्तानका मुख्य प्रशिक्षक नेमात्जाहन जाकिरोभले नेपालसँगको पहिलो खेलमा उल्लेख्य समर्थकको अपेक्षा रहेको बताए । यो प्रतियोगिता आफ्ना खेलाडीका लागि एक्सपोजरको सुनालौ मौका भएको उनको भनाइ थियो । उद्घाटन खेलमा दिउँसो दुई बजे म्यानमार र लेबनन आमनेसामने हुनेछन् ।
सहभागी चार टिममध्ये म्यानमार सबैभन्दा बलियो छ । फिफा वरियतामा म्यानमार ५५, लेवनन १ सय ३४, कीर्गिस्तान १ सय २८ र नेपाल १ सय तीन स्थानमा छ । फोर नेसन्स कप आगामी जुनमा हुने एसिया कप छनोटको तयारी हो ।