
काठमाडौं। काठमाडौँ महानगरपालिकाले २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन गरेको छ ।
भौगोलिक सूचना र सेटलाइट तस्बिरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्सांकन र नामांकन भइसकेको महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले जानकारी दिए ।
विसं २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिएको इञ्जिनियर श्रेष्ठले जनकारी दिए ।
‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थिया’, श्रेष्ठले भने, ‘सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ ।’
महानगरले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्सांकन थालेको छ ।
गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्सांकनको काम थालिएको महानगरले जनाएको छ ।
भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्ने भएकाले काम थालिएको बताए ।
सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न वडाहरूमा माग आएको र त्यसले समन्वय गरेर दिगो हुने गरी काम गर्नुपर्ने वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।
नक्सांकनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपत्कालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्यांक हुने महानगरको भनाई छ ।
अहिले सडकहरूको नक्सांकन गर्ने र सूची तयार पार्ने, काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट नामकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरूको मौलिक र वैज्ञानिक नामकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्सांकन गर्ने महानगरको योजना छ ।
नक्सांकनबाट प्राप्त तथ्यांकले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आवद्ध गराउन गराउने महानगरको योजना रहेको छ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुने भएकाले त्यसले पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने महानगले बताएको छ ।