
नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने आग्रह गरे । ‘मिडिया व्यवस्थापन यो संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको छ’ सांसद थापाले भने । पत्रकारले सोध्ने प्रश्नहरु संविधान र कानुन अनुकुल हुनुपर्ने उनको आग्रह छ ।
‘सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ति प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइन्न ?’ एमाले सांसद थापाको प्रश्न छ ।
आफूले यस्तो भोग्दै आएको र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले सदनको ध्यानाकर्षण गरेका हुन् ।
‘म आफैँले पनि भोगेको र हिजो सम्माननीय प्रधानमन्त्रीज्युलाई लक्षित गरेर सोधिएका प्रश्नका प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ।
प्रधानमन्त्र केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमबाट बाहिरिनेक्रममा संसद् भवन परिसरमा सोधिएका प्रश्नहरूप्रति सांसद थापाले आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्री ज्यु यहाँको प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो ? भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’ थापाको प्रश्न छ ।
संसद सचिवालयको अनुमतिले रिर्पोटिङमा रहेका मिडियाका व्यक्तिहरूले संविधान, कानुन, त्रिकार आचारसंहिता र सामाजिक शिष्टाचारलाई ख्याल गर्नुपर्ने उनको आग्रह छ । ‘‘यी कुरालाई ध्यान नदिइ गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन रु म यो कुरा सोध्न चाहन्छु’ थापाले भने ।
संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम मिडिया व्यवस्थापन गर्नेतिर ध्यान दिन संसद सचिवालयाई समेत उनको आग्रह छ ।
आफूलाई नै एकजना मिडियाकर्मीले ‘तपाईं हनुमान हो’ प्रश्न गरेको पनि सांसद थापाले सभामा सुनाए । ‘सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइन्न’ भनेर ख्याल गरिनुपर्नेमा उनले जोड दिए ।