![सांसद शाहीको भनाइबारे रघु पन्त–राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन](https://sagarmatha.tv/wp-content/uploads/2024/08/Raghuji-Panta-1719745955-1024x642.jpg)
काठमाडौं। सत्तारढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् ।
प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रामको संज्ञा दिएपछि विरोध भएको थियो ।
‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’
के भनेका थिए शाहीले ?
सांसद शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । उनले चुनाव हारेका, हरुवा–चरुवाको भर्ती केन्द्र राष्ट्रिय सभा बनाएपछि त्यसरी बोल्नुपरेको बताए ।
‘हामीले हरुवा–चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?’, उनले भने, ‘मेराविरुद्ध खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुस् । हरुवा–चरुवा वृद्राश्रममा जाने बाजे–बज्यैलाई घरमा गएर नाति–नातिना खेलाएर बस्न भन्नुस्। तर राष्ट्रिय सभालाई हामी युवा र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’