
दैलेख। भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो ।
गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए ।
गाउँपालिकामा वडास्तरीय चारवटा स्वास्थ्य चौकी र एक महावु गाउँपालिकाको ठूलो अस्पताल भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।
आफू दोस्रोपटक निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेको स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको शाहीले बताए । उनले भने, ‘ योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी महावुलाई कृषिको हब बनाउने योजनामा लागेको छु ।’
महावु गाउँपालिकाले वडा नम्बर ५ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्याउन भूमिका खेलिरहेको वडाध्यक्ष दीपबहादुर शाहीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ ।
आपतकालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नम्बर ५ गोर्तिका स्थानीयवासी ठिमबहादुर बरालले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि दैलेख सदरमुकाम जानुपर्ने बाध्यता छ ।
यहाँबाट गाउँपालिका गैङडावाज अस्पताल पुग्न पाँचदेखि ६ घण्टासम्म लाग्छ । वर्षा सुरु भएपछि यातायात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्योपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।