भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ ।
रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।
‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्यहारप्रति हामी अत्यन्तै दु:खी हुँदै माफी चाहन्छौं, ‘ उनले विज्ञप्तिमा भनेका छन्, ‘ हामी नेपाली विद्यार्थीलाई त्यतिबै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’ उनले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।
उक्त कलेजले नेपालबाट पढ्न गएका १४ सय विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही गरिसकेको छ । यसअघि केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत् जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।
क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरिएको कलेजले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :