
काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कालिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शंकास्पद मृत्युको घटनामा पीडितलाई न्याय प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
ओडिसा सरकारको सूचना विभागका निर्देशकद्वारा जारी विज्ञप्तिमा छानविन समितिको निष्कर्षका आधारमा कानुनी कारबाही अगाडि बढाउने जनाएको हो ।
उच्चस्तरीय छानविन समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सदस्यहरू रहेको ओडिसा सरकारले जनाएको छ ।
साथै, घटनामा विद्यार्थीहरूमाथि भएको बल प्रयोगलगायत दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको र त्यसमा जिम्मेवार देखिएका व्यक्तिलाई कानुनअनुसार जवाफदेही बनाइने विज्ञप्तिमा उल्लेख छ ।
ओडिसा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा, मर्यादा र हित सुनिश्चित गर्नुका साथै छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न सबै आवश्यक कदम चाल्न प्रतिवद्ध रहेको समेत जनाएको छ ।