
एजेन्सी। युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठूलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
विद्युत आपूर्ति अवरुद्ध हुँदा उक्त क्षेत्रमा बस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधबार बताएका छन् ।
नगर प्रमुख गेन्नाडी ट्रुखानोभले टेलिग्राममा भनेका छन् ‘शहरको घना बस्ती भएको क्षेत्रमा शत्रुको ठूलो आक्रमणका कारण आवासीय क्षेत्रको ठूलो भागमा बिजुली, पानी र विद्युत्को अभावमा अन्य सेवा प्रभावित बनेका छन् । ‘
उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए।
ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिएनन्। विगत तीन वर्षदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारका साथै यसका शहर र गाउँहरूलाई लक्षित गर्दै आएको छ।
युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले वार्ताका लागि टोली गठन गर्न सहमत भएको एक दिनपछि ओडेसामा आक्रमण भएको हो ।