जोडिनुहोस
  • होमपेज
  • ‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित कार्यक्रममार्फत ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे रहनुभएको थियो। पुस्तकका लेखक वरिष्ठ पत्रकार किशोर नेपाल हुनुहुन्छ भने, पुस्तकको प्रकाशन रुचि श्रेष्ठले गर्नुभएको हो।

कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनका सचिव प्रकाश ढकालले गर्नुभएको थियो भने, अध्यक्षता युनियनका अध्यक्ष टंकराज अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य युनियनका उपाध्यक्ष माधव रेग्मीले दिनुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुकराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला सभापति किशोरदत्त बराल, प्रजातान्त्रिक विचार समाज कास्कीका डा. बीरबहादुर कार्की, गणेशमान सिंह फाउण्डेसन गण्डकीका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिना, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आन्द्राज मुल्मी, माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस रजिष्ट्रार बिमला भण्डारी, साथै वरिष्ठ पत्रकारहरू बद्रीविनोद प्रतीक, पुण्य पौडेललगायतको विशेष उपस्थिति रहेको थियो।

महेन्द्र नारायण निधिको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित लोकार्पण समारोहमा लेखक किशोर नेपालले २०२६ सालमा महेन्द्र नारायण निधिसँग भएको भेटघाट स्मरण गर्दै भन्नुभयो, “त्यतिबेला देशका शासकहरूले स्वतन्त्रताको आवाज सुन्न सक्दैनथे, न त उठाउन पाइन्थ्यो। जनकपुरमा निधिजीसँग पहिलो परिचय भएपछि लोकतन्त्रबारे समाचार लेख्दा जेल जानुपरेको थियो। उहाँ मधेस र पहाड जोड्ने महत्वपूर्ण सेतु हुनुहुन्थ्यो, तर उहाँको योगदान छायामा परेको छ।”

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आन्दराज मुल्मीले “नेपालमा निधिहरूको योगदान खोज्ने कार्य प्रशंसनीय छ” भन्दै पुस्तक प्रकाशनको प्रशंसा गर्नुभयो।

नेपाली कांग्रेस प्रदेश सभापति शुकराज शर्माले “नेपाली कांग्रेसको सम्पत्ति निधिहरूको योगदानलाई सबैका माझ ल्याउने कार्य प्रशंसनीय छ” भन्दै वरिष्ठ पत्रकार किशोर नेपाललाई धन्यवाद दिनुभयो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले “नेपालका निधि, विशेष गरी महेन्द्र नारायण निधिको योगदान प्रेरणादायी छ। उहाँ सात सालको क्रान्तिदेखि २०४६ सालको आन्दोलनसम्म सक्रिय रहनुभयो। यो पुस्तकले इतिहासलाई पुनः ब्युँझाउने महत्त्वपूर्ण काम गरेको छ” भन्दै लेखक किशोर नेपाललाई बधाई दिनुभयो।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीले “कार्यक्रममा वरिष्ठ पत्रकार, राजनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले शोभा बढाएको छ” भन्दै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका