जोडिनुहोस
  • होमपेज
  • भारत सरकारको ६२ करोडको अनुदान : नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृतिमा १० नयाँ परियोजना

भारत सरकारको ६२ करोडको अनुदान : नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृतिमा १० नयाँ परियोजना

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रलाई लक्षित गर्दै १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कुल लागत ६२ करोड पाँच लाख रुपैयाँ बराबरका यी परियोजनाहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नेपाल सरकारका सम्बन्धित कार्यान्वयन एजेन्सीबीच संयुक्त रूपमा अघि बढाइने भएका छन्।

यी परियोजनाहरू महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको नेतृत्वमा स्थानीय तहमै कार्यान्वयन हुने दूतावासले जनाएको छ । शिक्षा, स्वास्थ्य सेवा र सांस्कृतिक पूर्वाधारको अभाव झेलिरहेका बस्तीमा यी परियोजनाले प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीमार्फत सहयोग गर्दै आएको छ । तीमध्ये सातै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, खानेपानी, सिँचाइ, विद्युतीकरण, संस्कृति र सामाजिक सेवामा ४९५ परियोजना पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनको विभिन्न चरणमा रहेका छन्।दुवै देशबीचको ‘जनस्तरको सम्बन्ध बलियो बनाउने’ उद्देश्यले अघि बढाइएको यस किसिमको अनुदान सहयोगले नेपालका ग्रामीण तथा अर्धशहरी क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा दिने विश्वास गरिएको छ । यसले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास सरकार पक्षले व्यक्त गरेको छ।

धेरै टिप्पणी गरिएका