
यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् ।
यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै क्षेप्यास्त्र प्रहार भएको सेनाले बताएको छ ।
यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, “तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छः यहाँ धेरै चौडा र कैयाँं मिटर मिटर गहिरो खाडल बनेको छ ।”
प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ । एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।
क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरु भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ ।
शनिबार हुथी विद्रोहीसमूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो । सन् २०२३ मा गाजा युद्ध सुरु भएयता हुथी विद्रोहीले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र इजरायली हवाई सुरक्षा बलले रोकेका छन् ।




































