जोडिनुहोस
  • होमपेज
  • मोरङ कारागारमा शिव मन्दिर उद्घाटन, कैदीबन्दीका लागि धार्मिक अभ्यासको सहज वातावरण

मोरङ कारागारमा शिव मन्दिर उद्घाटन, कैदीबन्दीका लागि धार्मिक अभ्यासको सहज वातावरण

विराटनगर । विराटनगर–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा बुधबार एक भव्य समारोहबीच शिव मन्दिरको उद्घाटन गरिएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव, सशस्त्र प्रहरी बलका एसपी, प्रहरी तथा प्रशासनिक निकायका पदाधिकारी, कारागार प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कारागारको नयाँ ब्लकमा निर्माण गरिएको यो मन्दिर गिरि फाउन्डेसनका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरिको पहल र उनको व्यक्तिगत खर्चमा बनेको हो।

मन्दिर उद्घाटनसँगै कारागारको वातावरण धार्मिक आस्था र सांस्कृतिक मूल्यमा अझ समृद्ध भएको उपस्थित अतिथिहरूले बताए।

समारोहमा बोल्दै नेता गिरिले कारागारभित्र रहेका कैदीबन्दीहरूको मानसिक शान्ति, नैतिक सुधार र सामाजिक चेतना अभिवृद्धिका लागि धार्मिक स्थलको भूमिका महत्वपूर्ण हुने धारणा राखे। उनका अनुसार, धर्मले मानिसलाई आत्मचिन्तन, पश्चात्ताप र सकारात्मक जीवनतर्फ उन्मुख गराउने भएकाले कारागारमा यस किसिमको धार्मिक स्थल अपरिहार्य हुन्छ।

मन्दिर निर्माणको उद्देश्य धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई सम्मान गर्नुका साथै कैदीबन्दीलाई धार्मिक अभ्यासको सहज अवसर प्रदान गर्नु रहेको जानकारी दिइएको छ। यसले सर्वसाधारण र कैदीबन्दीबीच समान धार्मिक वातावरण सृजना गर्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा सहभागी विभिन्न अधिकारीहरूले यस पहललाई स्वागत गर्दै धार्मिक स्थलले कारागारभित्रकै मात्र नभई समाजमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे।

मोरङ कारागारमा यसअघि यस्तो मन्दिर नभएकाले कैदीबन्दीहरूलाई धार्मिक अनुष्ठान र अभ्यासमा कठिनाइ थियो। अब भने नियमित पूजाआजा, ध्यान र आध्यात्मिक क्रियाकलापका माध्यमबाट उनीहरूले मानसिक शान्ति र आत्मबल पाउने अपेक्षा गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका