
वैदेशिक सहायता कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाली सेनालाई २ वटा एम–२८ स्काई ट्रक (एयर एम्बुलेन्स र स्काई ट्रक १–१) पूर्ण अनुदान स्वरूप हस्तान्तरण गरेको छ ।
गौचरस्थित मध्य एयर वेशमा आयोजित विशेष समारोहबीच नेपालका लागि अमेरिकाका महामहिम राजदूत डिन आर थोम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रकहरू हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा प्रमुख आतिथ्यका रूपमा उपस्थित थिइन् भने रक्षा मन्त्री मानवीर राईको समेत उपस्थिति रहेको थियो ।
अमेरिकी सेनाद्वारा प्रदान गरिएका यी स्काई ट्रकहरू सैनिक प्रयोजनसँगै विपद् व्यवस्थापन तथा आपतकालीन उद्धारका लागि समेत प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री देउवाले विपद् प्रतिकार्य र मानवीय सहयोगमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकाले गरेको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरिन् । सोही अवसरमा राजदूत थोम्पसनले हस्तान्तरण गरिएका स्काई ट्रकहरूले नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्दै निकट भविष्यमा थप २ वटा बेल हेलिकोप्टर सहयोग स्वरूप उपलब्ध गराउने जानकारी दिए ।
कार्यक्रममा बलाधिकृत, अमेरिकी ‘फरेन मिलिटरी फाइनान्सिङ’का प्रिन्सिपल डेपुटी डाइरेक्टर, रथीवृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका उच्च अधिकारीहरू, अमेरिकी दूतावासका सैनिक सहचारी तथा प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।





































