जोडिनुहोस
  • होमपेज
  • मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेका युवकको शव निकाल्न नसकेपछि सुरक्षाकर्मी फर्किए

मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेका युवकको शव निकाल्न नसकेपछि सुरक्षाकर्मी फर्किए

मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट खसेर ज्यान गुमाएका युवकको शव निकाल्न गएको सुरक्षा टोली रित्तै फर्किएको छ ।

नार्पाभूमि गाउँपालिका वडा नम्बर २ नाम्के खर्कको हुलाकी ओडारमाथि यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको ज्यान गएपछि शव निकाल्न टोली खटिएको थियो । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ का तामाङ वैशाख १६ गते नै भीरबाट खसेकामा प्रहरीले १९ गतेमात्रै खबर पाएको हो ।

उद्धारका लागि सुरक्षा टोली खटाएकोमा कठिन भूगोलका कारण शव निकाल्न सम्भव नभएको मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो ।

मनाङसहित मुस्ताङका उच्चलेक तथा पाटनमा पनि यार्सागुम्बा सङ्कलन शुरू भएको छ । मुस्ताङको थासाङमा रहेको कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा यार्सा सङ्कलन शुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो ।

यस्तै डोल्पाका पाटनहरूमा भने आउँदो जेठ ५ गतेदेखि मात्रै यार्सा सङ्कलन फुकुवा हुने भएको छ । सर्वपक्षीय बैठकले जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो ।

हरेक वर्ष मनाङ, मुस्ताङ, डोल्पालगायत जिल्लाका उच्च भूभागमा यार्सा खोज्नेहरूको भीड लाग्ने गर्दछ । यार्सा सङ्कलनका क्रममा लेक लाग्ने, लड्नेदेखि झैझगडा र यार्सा लुटपाट गर्नेसम्मका घटना हुने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमार्फत सुरक्षाको प्रबन्ध गर्ने व्यवस्था छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका