काठमाडौँ ।नेपालका विमानस्थलहरूमा हरेक यात्रुलाई हातले छामछुम पारेर गरिने भन्सार जाँचप्रक्रिया अस्वाभाविक र यात्रु–मैत्री नभएको भन्दै सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ।
नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका भन्सार निरीक्षण प्रणाली सुधार आवश्यक रहेको उल्लेख गरिएको छ। आयोगका अनुसार अहिले विमानस्थलभित्र लागू गरिएको भन्सार निरीक्षण प्रक्रिया अत्यन्तै असहज, अनावश्यक र पर्यटकका लागि अपमानजनक बन्दै गएको छ।
प्रतिवेदनमा भनिएको छ, “आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज छ, हरेक यात्रुलाई हातले छामछुम गर्ने प्रथा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदैन।” आयोगले यस्तो कार्यले यात्रुमा असुरक्षा र असजिलोपनको भावना सिर्जना गर्ने मात्र नभई, नेपालको पर्यटन छविमा समेत नकारात्मक असर परेको बताएको छ।
राजस्व असुलीलाई मात्र लक्ष्य बनाएर अपनाइएका यस्तो अभ्यासले अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य सुरक्षा मापदण्डको उल्लङ्घन गरेको आयोगको ठहर छ। साथै, यात्रुहरूलाई सास्ती दिने तर संगठित अपराध नियन्त्रणमा ठोस परिणाम नदेखिनु दोहोरो विडम्बना भएको आयोगले जनाएको छ।
आयोगको प्रतिवेदनमा विमानस्थलमा ब्यागेज क्लेम गर्दा हुने सामान चोरी, टुटफुट र जिम्मेवारीको अभावका कारण यात्रुहरू मर्कामा पर्ने समस्या पनि उल्लेख छ। आयोगले यस्तो अवस्थाको अन्त्यका लागि आधुनिक एक्स-रे स्क्यानिङ प्रणाली, सीसीटीभी निगरानी र डिजिटल ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगको निष्कर्षमा भनिएको छ — नेपालजस्तो पर्यटकीय देशमा यात्रु–मैत्री भन्सार निरीक्षण प्रणालीको स्थापना अब ढिलो गर्न नहुने अवस्था आएको छ।
































