देश
न्युयोर्क मेयर मम्दानी र सांसद एओसीको भेट, लालिगुराँस बिस्ट्रोमा नेपाली परिकारसहित सौहार्दपूर्ण संवाद

काठमाडौं । अमेरिकी राजनीतिका दुई प्रभावशाली युवा अनुहार, नवनिर्वाचित न्युयोर्क नगरप्रमुख जोहरान मम्दानी र सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) बीच हालै भेटघाट भएको छ । यो भेटघाट ज्याक्सन हाइट्सस्थित सुप्रसिद्ध नेपाली रेष्टुरेन्ट ‘लालिगुराँस बिस्ट्रो’मा सम्पन्न भएको हो ।
मेयरमा निर्वाचित भएपछिको पहिलो दिनका गतिविधि साझा गर्दै मम्दानीले बिहीबार ‘एक्स’ (पहिलेको ट्विटर) मा तस्बिरसहित लेखेका छन्, “मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्त व्यस्त रह्यो—अन्तर्वार्ता, घोषणा, बैठक र कुराकानीहरू । तर यी सबैमाझ सबैभन्दा विशेष चाहिँ हाम्री सांसद एओसीसँग लालीगुराँस बिस्ट्रोमा भएको लन्च बैठक रह्यो ।”
तस्बिरमा मम्दानी र एओसी म:म, चिकेन तन्दुरी, दूध चिया र आलुजस्ता नेपाली परिकारको स्वाद लिँदै गफगाफमा व्यस्त देखिन्छन् । सन् २००८ मा स्थापित लालीगुराँस बिस्ट्रो न्युयोर्कको नेपाली बाहुल्य क्षेत्र ज्याक्सन हाइट्सको लोकप्रिय रेष्टुरेन्ट हो ।
मम्दानी र एओसी दुवैले आफ्ना चुनावी अभियानका क्रममा न्युयोर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामा सन्देश पठाएका थिए । अमेरिकी राजनीतिको केन्द्रमा नेपाली स्वाद र आतिथ्यको उपस्थितिले प्रवासी नेपालीहरूमा गर्वको अनुभूति गराएको छ ।





































