जोडिनुहोस
  • होमपेज
  • चिकित्सक संघको आन्दोलन : अस्पतालको ढोका बन्द, बिरामी उपचारविहीन

चिकित्सक संघको आन्दोलन : अस्पतालको ढोका बन्द, बिरामी उपचारविहीन

काठमाडौं । नेपाल चिकित्सक संघको देशव्यापी आन्दोलनले अस्पतालको ढोका बन्द हुँदा हजारौँ बिरामी उपचार नपाएर अन्योलमा परेका छन्। आकस्मिक बाहेकका सबै सेवा आज ठप्प हुँदा बिहानै अस्पताल पुगेका बिरामीहरू खाली हात फर्किन बाध्य भएका छन्।

काठमाडौंको वीर अस्पतालदेखि देशका ठूला स्वास्थ्य संस्थासम्म सेवा अवरुद्ध भएपछि कतिपय बिरामीहरू ओपीडी टिकटको लाइनमै निराश फर्किए। चिकित्सक संघको बन्दको सूचना पढ्दै उनीहरू आक्रोश र असहाय भावमा अस्पताल परिसरबाट बाहिरिएका दृश्यहरू आम जनताका लागि पीडादायी बनेका छन्।

नेपाल चिकित्सक संघले पछिल्लो समय उपभोक्ता अदालतबाट आएका केही फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो।

संघका अनुसार उपभोक्ता अदालतले उपचारमा लापरवाहीको मुद्दामा ओम अस्पताल, ग्राण्डी सिटी अस्पताल, हिमाल अस्पताल लगायतका संस्थाहरूलाई करोडौँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको विषयप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलन गरिँदै आएको थियो।

यसअघि असार १७ गतेदेखि चिकित्सकहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरिएकोमा, आजबाट आन्दोलन थप कडा बनाउँदै आकस्मिकबाहेकका सेवा अवरुद्ध गरिएको हो।

संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा यस्ता बन्द हड्ताल नगर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसको अवज्ञा हुँदा आम नागरिक उपचार पाउने अधिकारबाट वञ्चित भएका छन्। कतिपय गम्भीर बिरामी परीक्षणको पर्खाइमै फर्किन बाध्य छन् भने दैनिक स्वास्थ्य परीक्षणमा आउने हजारौँ बिरामीका उपचार अवरुद्ध भएका छन्।

सरकार र चिकित्सक संघबीच सहमति नभएसम्म आन्दोलन जारी रहने संकेत गरिएको छ। तर यसबीच पिसिएन टिकेटमा आशा बोकेर आउने बिरामीहरूको जीवन जति असुरक्षित हुँदै गइरहेको छ, त्यो प्रश्नलाई न सरकार न संघले जवाफ दिएको छ।

धेरै टिप्पणी गरिएका