
काठमाडौ । प्रहरी जवान शंकर बलायरको मृत्यु प्रकरणमा संलग्न भनिएका बस चालक पक्राउ परेका छन्।
डोटी प्रहरीले सोमबार बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार, बाजुरा जिल्ला गौमुल गाउँपालिका–२ बसोबास गर्ने एक ३३ वर्षीय बस चालकले चलाएको ना.७ ख १७२ नम्बरको बसले ठक्कर दिँदा प्रहरी जवान बलायरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको हो।
घटना शिखर नगरपालिका–८ गोपघाटमा गत असोज १७ गते राति करिब १२:१५ बजे भएको हो। बलायर दशैं बिदामा घर आएका थिए, र उनी हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिएपछि चालक बससहित फरार रहेका थिए। तर सोमबार बस चालकलाई प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार, बस चालक र बस दुवै प्रहरी नियन्त्रणमा छन्। प्रारम्भिक तथ्यले ठक्करकै कारण बलायरको मृत्यु भएको देखाउँछ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले भने ।
प्रहरीले पक्राउ परेका चालकलाई हिरासतमा राखी घटनाको सम्पूर्ण पक्षबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। बलायरको मृत्युपछि परिवार र स्थानीयवासीले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै निरन्तर दबाब दिँदै आएका थिए। पक्राउपछि अब घटनाको वास्तविक कारण सार्वजनिक हुने प्रहरीको अपेक्षा छ।





































