जोडिनुहोस
  • होमपेज
  • पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ जुली कुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीमा २७ वर्षीया रोशनी झाको शंकास्पद निधनप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छिन्।

घटनाको जानकारी पाएको दिनदेखि नै उनले सरोकारवाला निकायसँग निरन्तर सम्पर्क राख्दै सत्यतथ्य उजागर गर्न आग्रह गर्दै आएकी छन्। गत बिहीबार राति आफ्नै घरमा मृत फेला परेकी रोशनीको मृत्युबारे घरका सदस्य र माइती पक्षबीच फरक फरक दाबी गरिएको छ । घरका सदस्यहरूले रोशनी अस्वस्थ अवस्थामा भेटिएको बताएका छन् भने माइती पक्षले भने हत्या गरिएको आशंका व्यक्त गर्दै उजुरी दर्ता गराएको छ।

धनुषाको नगराइन–२ जटहीकी रोशनीको चार वर्षअघि प्रशान्त मिश्रसँग विवाह भएको थियो। प्रशान्त मिश्र हाल मधेश प्रदेशको नीति तथा योजना आयोगमा कार्यरत कर्मचारी हुन्। माइती पक्षले रोशनीका श्रीमान् प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्र विरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले दुवैलाई आइतबार नियन्त्रणमा लिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार प्रारम्भिक तथ्य संकलन भइरहेको छ र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको वास्तविकता पुष्टि हुने छ।

रोशनीका मामा प्रदीप चौधरीले घरमै केही प्रमाण नष्ट गरिएको आशंका व्यक्त गर्दै अनुसन्धान अझै कडा बनाउन माग गरेका छन्। यसबीच, पूर्वमन्त्री महतोले घटनालाई अत्यन्त संवेदनशील बताउँदै छानबिनमा ढिलाइ हुनु दुःखद भएको टिप्पणी गरेकी छन्। “शंकास्पद मृत्युमा ढिलाइ हुनु स्वयं प्रश्न उठाउने विषय हो। सत्यतथ्य तत्काल सार्वजनिक होस् र दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही होस्,” उनले माग राखेकि छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका