
काठमाडौं । चीनतर्फको भारी वर्षाका कारण रसुवामा आएको बाढीले ठूला क्षति पुर्याउँदा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरी प्रमुख डीएसपी हेम शाही काठमाडौंमा रहेको पाइएको छ।
दुवै जना गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौं आएका थिए। गृह स्रोतका अनुसार गएराति बाढीको सूचना प्राप्त भएपछि उनीहरूलाई जिल्लातर्फ फर्किन सहजीकरण गरिएको हो।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई पठाइएको भए पनि मौसमका कारण हेलिकप्टर रसुवामा अवतरण गर्न नसकी नुवाकोटमा अवतरण गरेको एक अधिकारीले जानकारी दिए।
गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाहमा रहेका सात वटा इभी गाडी, रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा समेत क्षति पुर्याएको छ।




































