जोडिनुहोस
  • होमपेज
  • अनिता मिलन इन्टरनेशनल एकेडेमीको रजत जयन्ती भव्य रूपमा सम्पन्न

अनिता मिलन इन्टरनेशनल एकेडेमीको रजत जयन्ती भव्य रूपमा सम्पन्न

अनिता मिलन अन्तर्राष्ट्रिय एकेडेमीले आफ्नो २५औँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा शिलालेख उद्घाटन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

बिहीबार विद्यालय परिसरमा सम्पन्न उक्त समारोहमा प्रमुख तथा विशिष्ट अतिथिका रूपमा नेपालका लागि बेलायती राजदूत रब फेनको विशेष उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक प्रमुख सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । साथै, विशेष अतिथिका रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी लगायत अन्य गण्यमान्य अतिथिहरूको सहभागिता रहेको थियो ।

समारोहको सुरुवातमा शिक्षक तथा विद्यार्थीहरुले अतिथिहरूलाई फूलको गुच्चा दिएर स्वागत गरेका थिए । त्यसपछि प्रमुख अतिथिद्वारा पानसमा  बत्ती  बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।समारोहको मुख्य आकर्षण रजत जयन्तीको शिलालेख अनावरण कार्यक्रम थियो, जसको अनावरण स्वयं बेलायती राजदूत रब फेनले गर्नुभएको थियो । कार्यक्रममा उहाँले अनिता मिलन अन्तर्राष्ट्रिय एकेडेमीको शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयप्रति योगदान पु¥याउनु भएकाहरुलाई विद्यालय परिवारले सम्मानपत्र प्रदान गरेको थियो । सोही अवसरमा मुकुन्द थापालाई दिवङ्गत कृष्णबहादुर थापाको नाममा सम्मान प्रदान गरिएको थियो । साथै, विद्यालयकी दिवङ्गत संरक्षक तथा ट्रस्टी अनिता रडिकको योगदान बारे पनि स्मरण गरिएको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विद्यालयको निरन्तर प्रगतिका लागि स्थानीय तहको सहयोग र सहकार्यको लागि प्रतिबद्धता जनाउनुभयो । विद्यालयका प्राचार्य शिशिर अधिकारीले विद्यालयको २५ वर्षे यात्रा स्मरण गर्दै समुदायको सानो प्रयासबाट सुरु भएको यो विद्यालय आज एक प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल भएको उल्लेख गर्दै सबै सहयोगी हातहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेवारी नृत्य, तामाङ सेलो लगायतका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरूलाई मायाको चिनो वितरण गरिएको थियो । विद्यालयले समुदायमा ल्याएको शैक्षिक परिवर्तनलाई ऐतिहासिक उपलब्धिका रुपमा लिएको छ । साथै, विद्यालयले दिएको गुणस्तरीय शिक्षाका कारण आज यस विद्यालयका विद्यार्थीहरूले देश–विदेशमा उत्कृष्ट पहिचान बनाउन सफल भएको कुरा पनि उजागर गरिएको छ । विद्यालय परिवारले रजत जयन्तीको अवसरमा गुणस्तरीय शिक्षाको विस्तारका लागि प्रतिबद्धता जनाएको छ ।

विद्यालय परिसरमा आयोजित विशेष समारोहमा स्थानीय समुदायका अगुवाहरू, अभिभावक, विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल थापाले समापन मन्तव्य दिँदै विद्यालयलाई अझ उचाइमा पु¥याउन सबैको निरन्तर साथको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका