
काठमाडौं । सिनामंगलमा पारिवारिक विवादले दर्दनाक रूप लिँदा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफ्नै चार महिनाको छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । घटनामा उनकी श्रीमतीसमेत घाइते भएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असई पुष्कर कार्कीले आइतबार दिउँसो आफ्नो डेरा कोठाभित्र चार महिनाको छोराको घाँटी थिचेर हत्या गरेका हुन् । घटना भएपछि फरार भएका कार्कीलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरी हिरासतमा लिएको छ । हाल उनीमाथि गम्भीर अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार ब्रेन ट्युमरको उपचार गराइरहेका शिशुको उपचार विषयमा श्रीमतीसँग विवाद भएपछि कार्कीले आवेगमा आएर हत्या गरेका हुन् । घटनाको क्रममा उनले श्रीमती कृष्णा कुँवरमाथि समेत कुटपिट गरेका थिए, जसका कारण उनी घाइते भएकी छन् ।
घाइते कृष्णालाई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ । पुष्कर कार्की र कृष्णा कुँवर दुवै जना विमानस्थलमा कार्यरत प्रहरी जवान रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




































