
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति एवम् जिल्ला विकास समितिका पूर्वसभापति मल्लको ७८ वर्षमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
स्वर्गीय मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ । मल्लको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको बताएको छ ।
मल्लको निधनप्रति काँग्रेस सभापति, संसदीय दलका नेता एवम् पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । “मल्लको निधनको खबरले मलाई दु:खीत बनाएको छ, स्वर्गीय मल्लले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको सक्रिय भूमिका सदा स्मरणीय रहनेछ, उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ”, सभापति देउवाले भनेका छन् ।
उनले स्वर्गीय मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्




































