
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले हालै सामाजिक सञ्जालमार्फत पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै असल शासकीय प्रणाली र नीतिगत सुधारको आवश्यकता औंल्याएका छन् । उनले “पपुलिज्मको भ्रष्ट स्वरूपले प्रणालीलाई कमजोर बनाउँछ, त्यसैले व्यक्ति होइन, प्रणालीमा आमूल सुधार जरुरी छ” भन्ने धारणा राखेका छन् ।
गुरुङले शर्माले सार्वजनिक गरेको फेसबुक क्लिप र स्टाटसका प्रसङ्गमा लेख्दै भनेका छन्, “दीगो परिवर्तनका लागि व्यक्ति होइन, असल प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ । परिवर्तन पपुलिज्मबाट होइन, विवेक, संयमता र संस्थागत सुधारबाट आउँछ ।” उनले हालको राजनीतिक संस्कृतिमा बोलाइ र व्यवहारबीचको असमानता गहिरो समस्या भएको टिप्पणी गर्दै भने, “जब बोली र कर्ममा एकरूपता हुँदैन, तब जनता निराश हुन्छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र दण्डहिनता अन्त्य नै सुशासनको आधार हो ।”
गुरुङका अनुसार असल प्रणालीले “व्यक्तिपूजक प्रवृत्ति, चाकडीवाद, अवसरवाद, र पीत पत्रकारिता” जस्ता व्यवहारलाई अस्वीकार गर्छ । उनले भने, “प्रणालीले दास मानसिकता, गुणगानको संस्कार र भष्मासुर जस्ता प्रवृत्तिलाई स्वीकार गर्दैन । यो विवेक, पारदर्शिता र उत्तरदायित्वमा टेकेको संरचना हो ।” उनले परिवर्तनको आधार अहिंसात्मक, समावेशी र विवेकपूर्ण हुनुपर्ने बताउँदै “म खोजेको परिवर्तन व्यक्ति होइन, प्रणालीको हो । त्यो परिवर्तन भावनात्मक होइन, व्यवहारिक हुनुपर्छ,” भनेका छन् । गुरुङले संसद, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली वा अन्य वैकल्पिक मोडेलहरूबारे खुला बहसको प्रस्ताव पनि गरेका छन् ।
उनका अनुसार, नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकारहरू अझै व्यवहारमा नआएको र ती कागजमै सीमित रहेको छ । उनले भने, “संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्नुपर्ने बेला आएको छ । अधिकार केवल दस्तावेजमा सीमित रहँदा प्रणालीमा विश्वास कमजोर हुन्छ ।” गुरुङले अन्त्यमा भनेका छन्, “पपुलिज्मले ताली र भीड त दिन सक्छ, तर दीर्घकालीन समाधान दिन सक्दैन । देश चलाउने शक्ति विवेकपूर्ण र पारदर्शी प्रणालीमा हुन्छ । व्यक्तिभन्दा प्रणाली बलियो बनाउने संस्कार बनाऔं — यही नै दीर्घकालीन परिवर्तनको बाटो हो ।”
कल्याण गुरुङले नेपाली राजनीतिमा पपुलिज्म र व्यक्तिपूजक संस्कृतिको अन्त्य गरी संस्थागत सुधारमा जोड दिएका छन् । उनले प्रणालीमा आधारित शासन, पारदर्शिता, समावेशिता र विवेकयुक्त नीतिगत सुधारलाई दीर्घकालीन समाधानको रूपमा प्रस्तुत गरेका छन् ।





































