
काठमाडौँ — युवा कवि अनुष्का सिलवालको कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरिएको छ।
कार्यक्रममा प्राध्यापक गोविन्द भट्टराई, प्रकाशक माधवलाल महर्जन मण्डला बुक प्वाइन्ट र कवि अनुष्का सिलवालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।
२४ वर्षीया अनुष्काले मनाङ पदयात्राका क्रममा पुस्तकको ‘आईडिया’ फुरेको बताइन्। उनका अनुसार, लेखनप्रतिको रुचि कलेजपछि मात्र विकसित भएको हो। उनले भनिन्, “मलाई थाहा छैन, कहिलेदेखि लेख्न थालेँ भनेर। कलेजमा पढ्दा लेख्ने सोच थिएन, तर कलेज सकिएपछि कविता लेख्न थालेँ। आफूलाई अभिव्यक्त गर्न मैले कविताको माध्यम रोजेँ, जहाँ थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ।”
पुस्तकको शीर्षक ‘द बर्डन अफ ब्रेथ’ पनि मनाङको उकालो यात्रामै तय भएको उनले खुलाइन्। “ट्रेकिङका क्रममा सास फेर्न निकै संघर्ष गर्नुपर्यो। जब डाँडाको टुप्पोमा पुगें, त्यहाँबाट देखिएको दृश्य र अनुभव बिल्कुल फरक थियो। त्यही क्षणमा पुस्तकको नाम मनमा आयो,” उनले स्मरण गरिन्। कार्यक्रममा प्राध्यापक भट्टराई, सह–प्राध्यापक महेश पौडेल, सुजना घिमिरे र गौरी प्रधानले पुस्तकमाथि टिप्पणी र समीक्षा प्रस्तुत गरे।
प्रकाशक माधवलाल महर्जनले अनुष्काको साहित्यप्रतिको लगाव र कवितामा प्रयोग भएको सुन्दर अभिव्यक्तिलाई प्रशंसा गर्दै भने, “उनी कविताप्रति अत्यन्त समर्पित छिन्। उनका कविताहरू संवेदना र शैलीमा सन्तुलित छन्। त्यसैले यो पुस्तक प्रकाशित गर्न पाउँदा हामी गर्वान्वित छौं।”





































