जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

नेपालस्थित भारतीय राजदूतावासको आयोजना तथा लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ ।

सोमबार आयोजित यस महोत्सवले विशेषगरी बौद्ध धर्म र साझा सांस्कृतिक सम्पदालाई केन्द्रमा राख्दै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू र लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा भारत र नेपालका ख्यातिप्राप्त कलाकारहरूले सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारे । सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गर्‍यो, जसले बुद्ध दर्शन र कला परम्पराको सुन्दर संयोजन देखायो । त्यस्तै, साँझको सांस्कृतिक सत्रमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ले परम्परागत तथा लोकप्रेरित संगीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनायो ।

महोत्सवको एक महत्वपूर्ण अंशका रूपमा सोही दिन बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकमा शैक्षिक गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीमा दुवै देशका प्रतिष्ठित बौद्ध विद्वानहरूले बौद्ध सम्पदाले भारत–नेपाल सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाबारे विचार विमर्श गर्दै जनता–जनताबीचको सम्बन्ध प्रगाढ बनाउन यसको महत्त्वमाथि जोड दिएका थिए ।

आयोजकका अनुसार यस प्रकारका सांस्कृतिक तथा बौद्ध केन्द्रित कार्यक्रमहरूले नेपाल र भारतबीचको गहिरो ऐतिहासिक, धार्मिक र सांस्कृतिक बन्धनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV