
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र स्थानीय समुदायको संयुक्त लगानीमा एक करोड रुपैयाँभन्दा बढीको पूर्वाधार निर्माण सम्पन्न भएको छ।
परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरी ज्ञान आर्जन गरेको पवित्रस्थल प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी ध्यान गर्ने केन्द्रको रूपमा विकास गर्न पूर्वाधार तयार पारिएको हो।
गण्डकी प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण भएका छन् भने समुदायले चन्दा सङ्कलन गरी जुटाएको २८ लाख रुपैयाँबाट स्थानीय काठ, ढुङ्गा र माटो प्रयोग गरेर मौलिक शैलीको गोलघर निर्माण गरिएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ।
समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) का अनुसार विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरेका छन्। मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीसम्म सडक पनि पुर्याइएको छ।
पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटी पुनर्निर्माण गरेका छन् भने छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन्। रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ।
तीन वर्षअघिको अध्ययनले प्रभुचेला धुरीमा परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरी ज्ञान आर्जन गरेको तथ्य पहिचान भएपछि यसको संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो। बस्तीदेखि टाढा जंगलको बीचमा शान्त हावापानी र वातावरण भएकाले यो ठाउँ योग ध्यानका लागि अत्यन्त उपयुक्त मानिन्छ।
प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको बताए। प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो। बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्दथे।
स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए। कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै पनि यहाँ देख्न सकिन्छ। प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा पैदल र सवारीसाधनमा ३० मिनेटमा पुग्न सकिन्छ।


































