
राँझा (बाँके)। बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारिको नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बनेको छ।
हुलाकी सडक निर्माणसँगै नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए। “हुलाकी सडक नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” खानले भने, “हुलाकी सडक नरैनापुरवासीको जीवनरेखा बनेको छ।”
हुलाकी सडक बनेपछि नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक चारवटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालनमा छन्। यसले नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ।
“पहिला बिरामीलाई अस्पताल पुर्याउन धेरै कठिन हुन्थ्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ,” यादवले भने, “नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनका लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ।”
विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए। हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए। उनले गाउँपालिकाका छवटा वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे।
बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरु भएको दुई दशकभन्दा बढी समयपछि सम्पन्न भएको हो। करिब २३ वर्षअघिदेखि सडक निर्माण सुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताए।
हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे।





























