
काठमाडौं । दुई समूहका कैदीबन्दीबीचको झडपपछि कैदीहरूको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीले ४० घण्टापछि प्रवेश गरेका छन्। शनिबारदेखि सुरु भएको हिंसात्मक घटनापछि कारागारमा प्रवेश अवरुद्ध भएको थियो।
आइतबार अपराह्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली, मानव अधिकार आयोगको प्रदेश कार्यालय धनगढीको रोहबरमा, हतियारसहित कारागारभित्र प्रवेश गरेको हो। यसअघि कैदीबन्दीहरूले थुनुवा कक्ष भित्रबाट ताला लगाएर कारागार पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका कारण सुरक्षाकर्मी प्रवेश गर्न सकेका थिएनन्। दुई समूहबीचको भिडन्तमा एक जनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घटनापछि पनि स्थिति सामान्य नहुँदा कारागारको सुरक्षा जोखिममा रहेको आशंका बढेको थियो।
सुरक्षाकर्मीको टोलीले अहिले कारागारको ब्लक ‘ए’ र ब्लक ‘बी’ मा प्रवेश गरी भित्रको अवस्था बुझ्ने र आवश्यक खोजतलास गर्ने कार्य सुरु गरेको छ। साथै, कैदीबन्दीहरूको वास्तविक संख्या पत्ता लगाउन गणना प्रक्रिया पनि अघि बढाइने भएको छ।





































