देश
मेडिकल शिक्षा शुल्क र सिट संख्या यथावत नराखे सत्याग्रहसहित आन्दोलनको गर्न बाध्य हुने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले मेडिकल शिक्षाको शुल्क र सिट संख्या यथावत राख्न सरकारलाई आग्रह गरेका छन् । उनले समयमा नै माग सम्बोधन नगरे सत्याग्रह सहितको आन्दोलनको गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
‘मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकार र चिकित्सा शिक्षा आयोगलाई बारम्बार गरेको आग्रहलाई नजरअन्दाज गरी तत्कालै सिट बढाउने निर्णय गर्दैछन् भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एउटा पनि सिट नबढाउन र शुल्क नबढाउन ओली सरकार लगायत आयोगको पुनस् ध्यानाकर्षण गराउँदै चेतावनी दिन्छौं । अन्यथा सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुनेछौं भन्ने कुरा जानकारी गराउन चाहन्छौं ।’ डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सबन्धी ऐन लगायत एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान खोल्न र सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्ने लगायतका विषयमा विगतमा आफूसँग भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग डा. केसीले गरेका छन् ।
२०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउने कानुनी प्रावधानको प्रक्रिया अगाडि बढाउन समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।





































