जोडिनुहोस
  • होमपेज
  • बीपीको ‘नेपाल पक्कै ब्युँझिन्छ’ नारालाई बुलन्द गर्न डा. कोइरालाको आह्वान

बीपीको ‘नेपाल पक्कै ब्युँझिन्छ’ नारालाई बुलन्द गर्न डा. कोइरालाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्दै ‘जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाका कारण दुई ठूला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताए । शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेका घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै यसलाई सतर्कतापूर्वक हेर्नुपर्नेमा जोड दिएका हुन् ।

डा. कोइरालाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उनकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिँदै भने, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ ।’

आफ्नो पार्टीको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही ‘रणनीतिक भूल’ गरेको र युवाको भावनालाई बुझ्न नसकेको स्वीकार गरे । उनले भने, ‘हामी समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ ।’

कांग्रेसले लोकतान्त्रिक समाजवादको दियोलाई अनेकन् कष्ट, यातना र बलिदान दिएर निभ्न नदिएको स्मरण गर्दै उनले पार्टीले अब अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले छोडेको पदचिह्नबाट भावी दिशा निर्धारण गर्नुपर्नेमा जोड दिए । डा. कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिए । ‘अब सत्ताको केन्द्रमा को छ वा पार्टीको केन्द्रमा को छ भन्ने विषय गौण भए,’ उनले भने, ‘जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्नेछ ।’

भदौ २४ गते जलाइएको विराटनगरस्थित आफ्नो निवास ‘कोइराला निवास’ मा भएको क्षतिप्रति डा. कोइरालाले भावनात्मक अभिव्यक्ति दिए । उनले भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न ।’ डा. कोइरालाले बीपी कोइरालाको ‘नेपाल पक्कै ब्युँझिन्छ जय नेपालको नाराले’ भन्ने दिव्यवाणीलाई स्मरण गर्दै देशभरि यसलाई बुलन्द गर्न आह्वानसमेत गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका