जोडिनुहोस
  • होमपेज
  • वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँके– आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।

किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएकाे डुडुवा गाउँपालिका– ५ कम्दीका किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएकाे उल्लेख गर्दै यादवले भने, ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायाे ।’ नेपालगञ्ज– १७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पुर्‍याएकाे बताए ।

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएकाे बताए ।

उनले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरूले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिए । बाँकेमा गत बुधबार अपरान्हदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएकाेमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताए । उनले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेतमा क्षति पुर्‍याएकाे बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका