
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा अन्य व्यक्तिहरूलाई अवैध रूपमा पठाएको आरोपमा गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ।
गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्।
अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोलाई दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा उठाएको गम्भीर आरोप लगाएकी थिइन् । उनले प्रधानमन्त्रीको टोलीसँगै स्पेन गएका अन्य ५५ जना नेपालीहरू हालसम्म नफर्किएको दाबी गरेकी छिन्। सो आरोपसँगै उनले ती व्यक्तिहरूको नामावली र सम्बन्धित कागजातहरू समेत सार्वजनिक गरेकी थिइन्।
प्रधानमन्त्रीको टोलीबाहेक अन्य कस–कसलाई कसरी लगियो ? उनीहरूले भिसा कसरी पाए ? के प्रक्रिया अवलम्बन गरियो ? भन्नेबारे विस्तृत अनुसन्धान थालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
अनुसन्धानका क्रममा दोषी पाइएका व्यक्तिहरूलाई कानुनी कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।






































