
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
नेपालमा जलविद्युत्को कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए ।
जलविद्युत् उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दिगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
“नेपालमा जलविद्युत् उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत् आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार तथा दिगो भविष्यको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत् उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको छ । विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धि नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई उर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ,” उनले भने ।
उनले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एकतिहाइ मात्र विद्युत् उत्पादन गर्न सकिने पनि बताए । विद्युत् उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि मन्त्री खड्काले बताए ।





































