
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशनको बन्दसत्र अघि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको हो ।
बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । बैठकले गत भदौमा भएको विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्न लागिएको बुझिएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीको संख्या ठुलो भएकाले नेताहरुको व्यवस्थापन गर्न संख्या बढाउन लागेको बताइएको छ ।
केन्द्रीय कमिटीको बैठकपछि बन्दसत्र पनि भृकुटीमण्डपमै हुने छ । यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ ।
महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ।




































