
भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञको टोलीले तराई मधेशका विभिन्न गाउँ–गाउँमा पुगेर सुख्खाको कारण पत्ता लगाउन अध्ययन गरेको छ।

टोलीले सप्तरी र सिराहा जिल्लामा फिल्ड हाइड्रोजियोलोजिकल सर्वे गर्दै स्थानीय स्तरका इनार, ट्युववेल र ओभरहेड ट्याङ्कीको निरीक्षण गरेको हो। साथै, सर्रे खोला र बलान खोलाको प्रवाह अवस्था तथा चुरे पर्वतशृंखलाको समेत स्थल अवलोकन गरिएको छ।

अध्ययन टोलीले पानीको स्रोत घट्नु, भू–जलस्तरमा आएको परिवर्तन र मौसमी वर्षाको ढाँचा परिवर्तनका सम्भावित कारणबारे जानकारी संकलन गरेको जनाएको छ।

त्यसैगरी खानेपानी मन्त्री प्रदीप यादवसँग भारत सरकारको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ता समेत गरेको छ ।

नेपालस्थित भारतीय दुतावासले जनाएअनुसार नेपालको तराई क्षेत्र तथा तराईमा जमिनमुनिको पानीको अवस्थाको विस्तृत मूल्याङ्कन बारे यो भेटवार्ता भएको हो । जल सुरक्षा बढाउन तथा दिगो समाधानहरू सिफारिस गर्न नेपाल सरकारको अनुरोधमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको भारतीय दुतावासले जनाएको छ ।
यो भ्रमणले खानेपानी, फोहोर व्यवस्थापनसहित, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा सहकार्य बढाउन यस वर्षको सुरुवातमा दुवै देशले हस्ताक्षर गरेको द्विपक्षीय समझदारी पत्रले परिकल्पना गरिएको सहकार्यसँग मेल खाएको दुतावासले जनाएको छ ।





































