जोडिनुहोस
  • होमपेज
  • ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले गर्‍यो खेद प्रकट

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले गर्‍यो खेद प्रकट

काठमाडौं। राष्ट्रिय सभाले राप्रपा सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ । मिडिया काउन्सिल विधेयक पारितसँगै शाहीले राष्ट्रिय सभालाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले फेसबुक स्टाटसमार्फत राष्ट्रिय सभाका सांसदहरूको उमेर र विधेयक पारित प्रक्रियामाथि असन्तोष व्यक्त गरेका थिए ।

तर, मिडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जालमा लाइक, सेयर वा कमेन्ट गरेबापत कानुनी कारबाही हुने कुनै व्यवस्था नभएको स्पष्ट गरिएको छ । यस्तो प्रावधान वास्तवमा सामाजिक सञ्जाल विधेयकमा मात्र उल्लेखित रहेको छ, जुन राष्ट्रिय सभामा दर्ता भएको मात्रै छ ।

शाहीको अभिव्यक्तिप्रति आइतबारको राष्ट्रिय सभा बैठकमा विभिन्न सांसदहरूले आपत्ति जनाए। माओवादी सांसद गंगाकुमारी बेल्वासेले उनको अभिव्यक्तिले सभाको विशेषाधिकार हनन भएको भन्दै कारबाहीको माग गरिन् । कांग्रेस सांसद नारायणदत्त मिश्रले सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहनुपर्ने उल्लेख गरे । एकीकृत समाजवादीकी सांसद जयन्ती राईले पनि शाहीको अभिव्यक्तिप्रति असन्तोष व्यक्त गर्दै राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्नुपर्ने माग राखिन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शाहीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले मिडिया काउन्सिल विधेयक पारित प्रक्रियामा २६ जना सांसदहरूले ७८ वटा संशोधन दर्ता गरी विभिन्न पक्षहरूसँग छलफल गरिएको जानकारी गराए। विधायन व्यवस्थापन समितिको १४ वटा बैठकमार्फत विधेयक पारित गरिएको उनले प्रष्ट पारे ।

अध्यक्ष दाहालले शाहीको टिप्पणीलाई गैरजिम्मेवारपूर्ण ठहर गर्दै सभाले खेद प्रकट गरेको बताए । साथै, भविष्यमा सांसदहरूले आफ्ना विचार व्यक्त गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुने गरी प्रस्तुत गर्नुपर्ने निर्देशन पनि दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help