
पुजन घिमिरे
झापा । नेपाल फार्मेसी परिषदले लिने परिक्षामा सेटीङका नाममा ठूलो ठगि हुने गरेको पाईएको छ । गिरोह नै परिचालन गरी बिभिन्न परिक्षार्थीबाट मोटो रकम असुलेर सेटीङमार्फत बिभिन्न कोर्षका परिक्षामा सहभागी परिक्षार्थीहरुलाई परिषदले नै नक्कली प्रमाणपत्र दिईदै आएको हो ।
सन् २०१७ मा परिषदले लिएको परिक्षामा झापा र आसपासका पहाडी जिल्लामा मात्रै १२ बटा डिप्लोमा इन फार्मेसी उत्तिर्ण गरेको अनुमतीपत्र नक्कली फेला परेको छ । त्यसबापत प्रतिब्यक्ती ५ लाख रुपँया असुली गरिएको पीडितले बताएका छन् । झापा अर्जूनधारा– १० कालिस्थानका जिवन लुईटेल नाम गरेका ब्यक्तीलाई परिक्षा उत्तिण गराईदिने शर्तमा पटक–पटक गरेर ६० लाख ४५ हजार रुपँया आफूहरुले बुझाएको पीडितको भनाई छ ।
प्रतिब्यक्ती ५ लाख रुपँयाका दरले लुईटेललाई रकम बुझाएपछी परिषदमै गएर आफुहरुले परिक्षाको फारम भरेको बताए । त्यसपछी उनिहरुले परिषदले तोकेकै समय र स्थानमा परिक्षा समेत दिएका थिए । सोही परिक्षामा उत्तिर्ण भएको भन्दै परिषदले उनिहरुको सिम्बोल नम्बर सहित रिजल्ट आउट पनि गरेको थियो । सोही प्रमाणपत्रको आधारमा औषधी ब्यवस्था बिभाग बिराटनगरबाट अनुमती लिएर उनिहरुले आफ्नो आर्थिक क्षमता अनुसार पुर्वका बिभिन्न स्थानमा फार्मेसी समेत खोलेका थिए । तर, प्रत्येक ३ बर्षमा परिषदले दिएको अनुमतीपत्र नबिकरण गर्नुपर्ने कानुनी ब्यवस्था अनुसार जब उहनिहरु फार्मेसी परिषद पुगे त्यसपछी परिषदले नै उनिहरुको अनुमतीपत्र नक्कली भएकाले नबिकरण नहुने बतायो ।
तबमात्रै उनिहरुले आफुहरु ठूलो गिरोहको ठगिमा परेको थाहा पाए । नबिकरण गर्न पुगेका उनिहरुलाई परिषदले केरकार समेत गरेको थियो भने प्रहरी लगाएर पक्राउने डर देखाएर आफुहरुलाई त्याहाँबाट खेदाईएको एक परिक्षार्थीले बताए । उनले लगत्तै बिराटनगरस्थित औषधी ब्यवस्था बिभागको कार्यालयमा आएर आफुले खोलेको फार्मेसी औपचारिक रुपमा बन्द गराएका थिए । त्यसबापत पनि बिभागले केही रकम आफुसँग असुलेको उनको आरोप छ ।
यसरी ठगिनेमा अधिकांश युवा छन् । खासगरी झापाका काकडभिट्टा, धुलाबारी बिर्तामोड र पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमका ब्यक्तिहरु ठगिको शिकार भएको पाईएको छ । उनिहरुबाट रकम अशुली गरेका लुईटेल नक्कली अनुमतीपत्र हातमा थमाएर बेलायत पुगेका थिए । अहिले भने कतैबाट कार्वाही नहुने बुझेपछी स्वदेश फर्किसकेका छन् ।
उनले परिक्षा दिलाउने र अनुमतीपत्र दिलाउन आफूले नौ लाख रुपँया रकम लिएको स्विकार गरेका छन् । आफु सोही ब्यवहार मिलाउनकै लागि बेलायतबाट नेपाल फर्केको उनको दाबी छ । यद्यपी लुईटेलले पैसा फिर्ता दिने भन्दै पटक–पटक भाका सार्दै आएको बिर्तामोडका एक पीडितले बताए । लुईटेलसँग रकम लेनदेनको कागज समेत आफुसँग सुरक्षित रहेको उनको भनाई छ ।
स्रोतका अनुसार परिक्षार्थीहरुबाट अशुलीएको रकमध्ये लुईटेलले केही प्रतिशत राखेर बाँकी रकम मोरङ पथरीका रेवती रमण निरौलालाई दिने गरेका थिए । निरौलाले नै कुनैपनि बिद्यालयमा भर्ना नभएका तर परिक्षामा सामेल र उत्तिर्ण हुन चाहाने ब्यक्तिहरुलाई परिषदको परिक्षामा सामेल गराउने सेटीङ मिलाउने गरेका थिए ।
स्मरण रहोस् निरौला सरकारी छाप दस्तखत किर्ते मुद्धामा ५ वर्षको जेल सजाय पाएर केही समय अघिमात्रै छुटेका ब्यक्ती हुन् । उनै निरौलाले परिषदका एक ब्यक्तीलाई पैसा दिएर परिक्षामा सामेल गराई परिषदबाटै नक्कली प्रमाणपत्र दिलाउने काम गर्दै आएको स्रोतले बताएको छ । यो प्रकरणमा तात्कालिन परिषदका कर्मचारीको प्रत्यक्ष संग्नता बिना यत्रो सेटीङ हुनै नसक्ने एक परिक्षार्थीले बताए ।
उनले परिषद् आफै सेटीङमा परिक्षा लिने, नक्कली प्रमाणपत्र पनि दिने भएकाले आफुहरुबाट अशुलिएको रकम परिषद सम्मै पुगेको प्रमाणीत आफै भएको बताए । तर, परिषदकै नेतृत्वमा यो प्रकरण हालसम्म सामसुम पारिदै आएको बुझिएको छ भने सोही साल अन्य सयौ ब्यक्तिहरुपनि यो गिरोहकोे ठगिमा परेको हुनसक्ने बताईएको छ ।






































