
बैतडी। सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व हर्षोल्लासका साथ मनाइँदैछ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।
यस दिन मान्यजनलाई कर्कलाको पात, फलफूल, अन्न, दूध, दही, घिउ, गूड र पक्वानजस्ता परिकार उपहार दिने प्रचलन छ । बिहानै स्नान गरी घरमा विभिन्न परिकार बनाएर कृषिसम्बन्धी औजार तथा फलफूल आफन्तलाई दिनु पनि यस पर्वको विशेषता मानिन्छ ।
संस्कृतिविद्हरूका अनुसार वर्षाको संकट टरेर नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने चलन रहेको छ । धेरै ठाउँमा मन्दिरमा अन्न चढाउने परम्परा पनि छ । धार्मिक वा पौराणिक उत्पत्तिभन्दा पृथक यो पर्वलाई मौलिक तथा जेठो पर्वका रूपमा लिइन्छ । यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ ।
ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।





































