जोडिनुहोस
  • होमपेज
  • अविरल वर्षाले शुक्लागण्डकीमा सडक भासियो

अविरल वर्षाले शुक्लागण्डकीमा सडक भासियो

दमौली (तनहुँ)। आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ। शुक्लागण्डकी–४ दुलेगौडादेखि शुक्लागण्डकी–१२ लामागाउँ जोड्ने सडकखण्डमा हेल्थपोष्ट नजिकै भासिएको हो।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ। कम्पनीलाई काम गुणस्तरीय बनाउन समेत भनिएको छ।

करिब ७.१ किलोमिटर लम्बाइको यो सडक स्तरोन्नतिका लागि २०७८ चैत २५ गते सम्झौता भएको थियो। २७ करोड ३४ लाख रुपैयाँ लागतमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्ने काम बानियाँ निर्माण सेवाले गरिरहेको छ। हालसम्म करिब ४५ प्रतिशत प्रगति भएको छ।

सडक स्तरोन्नतिपछि शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले वडा नं. ८, ९ र १२ लाई जोड्नेछ। सडक १० मिटर चौडा हुने र दुवैतर्फ नाला निर्माण गरिनेछ।

१४ किलोमिटर लामो यो मोटरमार्ग कच्ची भएकाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका