
पुजन घिमिरे ।
झापा – राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदाममा छापा मारी प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको छ ।
नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी रहेका खरेलको बिर्तामोड ५ मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले औषधीजन्य लागूऔषध बरामद गरेको हो । खरेल सनलाइट फर्माका संचालक हुन् । खरेलले मनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा ती औषधी राखेका थिए ।
औषधीजन्य लागूऔषध फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले अहिलेसम्मकै ठूलो परिमाणमा औषधीजन्य लागूऔषध फेला परेको बताउँदै भोलि विहान पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताए । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय विनोद घिमिरे हुन् । औषधी व्यवसायी खरेल भने यो समाचार तयार पारुन्जेलसम्म फरार थिए ।
प्रहरीले बरामद औषधीजन्य लागूऔषधको परिमाणबारे नबताएपनि एकलाख भन्दा बढी क्याप्सुल ट्रामाडोललगायतका प्रतिबन्धित औषधी रहेका छन् । खरेलले बिर्तामोडकै धर्मकाँटा रोडमा सनलाईट फर्मा नामक पसलबाट औषधीको थोक बिक्री गर्दै आएका छन् । खरेलले औषधीको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागूऔषधजन्य औषधीको कारोबार गर्दै आएको बताईएको छ । उनी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुको प्रिय पात्र मानिन्छन् ।
१५ बर्ष अघिबाट चलाउँथे धन्दा
खरेललले प्रहरीलाई समेत सेटिङ मिलाएर बिगत १५ बर्ष अघिबाट प्रतिबन्धित औषधी नेपालभर बेचबिखन गर्ने गरेको तथ्य फेला परेको छ । करिब ४ बर्ष अघि इलाका प्रहरी कार्यालय अनारमनीले सादा पोषाकमा खटाएका प्रहरीले लागु औषधको कारोबार गरेवापत खरेलको घरैमा गएर तीन करोड रुपयाको डिल गरेको समेत स्रोतले बताएको छ ।
बल बहादुर तामाङ नाम गरेका घुमुवा प्रहरीले सेटीङ मिलाउन भन्दै पटक–पटक गरेर एक करोड रुपँया बुझेको र त्यसैको आडमा खरेलले अवैध कारोबार गर्दै आएको स्रोतको दाबी छ । तामाङले सुरुमा दशलाख रुपँया रकम बुझेर खरेलको लागु औषधको सामराज्य बिस्तार गर्न सहयोग गरेका थिए । खरेलले बिर्तामोडका अन्य केही औषधी व्यवसायीलाई भने ति सादा पोषाकका प्रहरीको सहायतामा फसाएर जेलसम्म पुर्याएको तथ्य समेत फेला परेको छ ।
खरेलबाट होलसेलमा लागुऔषधजन्य औषधी किनेर खुद्रा बिक्री गर्ने औषधी पसललाई यि नै तामाङले पक्राउ पर्नबाट जोगाउने गरेका थिए । खरेलका छोरा पनि केही समयअघि लागुऔषधजन्य प्रतिबन्धित औषधीको बेचबिखन गरेको आरोपमा पक्राउ परेका थिए । तर, प्रहरीसँगकै सेटिङमा प्रयोगकर्ता मात्रै भएको अनुसन्धान प्रतिबेदन बनाएर मुद्धा कमजोर बनाई छुटाएको स्रोतको दाबी छ ।
यसरी पत्ता लाग्यो खरेलको गोदाम
सुचकले प्रहरीको बिश्वास नगरी सामाजिक अगुवा र पत्रकारलाई गोदामबारे सुचना दिएको देखिन्छ ।सुचना पाएपश्चात उनिहरुले निरन्तर पाँच दिन निग्रानी गर्दा लागूऔषधजन्य औषधीको कारोबार हुने गरेको पुष्टि भएपश्चात मात्रै बिहिबार बिहान प्रहरीलाई खबर गरेका थिए । उनिहरुकै सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषधजन्य र प्रतिबन्धित भारतीय औषधी पक्राउ गरेको हो ।
इलामको पशुपतीनगरबाट छिराउँथे लागुऔषध
सबैलाई सेटिङ गरेको छु भन्ने खरेलले इलामको पशुपति नाकाहँुदै केरियरमार्फत यस्ता लागुऔषध जन्य औषधी नेपाल भित्र्याउने गरेको खुलेको छ । उनले दैनिक १० कार्टुन ट्रामाडोल र अन्य मनोद्धिपक औषधि ल्याउने गरेका थिए । सबै चेकप्वाईन्ट पार गरेर बिर्तामोड आईपुगेको औषधी सम्पर्कमा रहेका अन्य कारोवारीलाई खरेलले बाटोबाटै सप्लाई गर्ने र बाँकी रहेको गोदाममा ल्याएर थन्क्याउने गरेका थिए ।
सात बर्ष अगाडि पशुपतिनगर नाकामार्फत भित्र्याईएको प्रतिबन्धित औषधी दुईवटा पिकअपमा ल्याउँदैगर्दा झापाको बुधबारेमा पक्राउ परेको थियो । तर, पक्राउ परेपनि केरियरलाई पिकअप नयाँ किनिदिएर केश सेटल गर्न खोजिएको थियो । त्यतिबेला समेत खरेललाई मुद्धा नचलाई केरियरलाई मात्रै चलाईएकाले केरियर संचालक एक महिला हालसम्म फरार रहेका स्रोतको दावी छ ।
काठमाडौं र पोखरा सम्म सप्लाई
खरेलले बिर्तमोडकै न्यू कलपतरु केरियरबाट काठमाडौ, पोखरा र नेपालगञ्जसम्म लागुऔषधजन्य प्रतिबन्धित औषधी पठाउने गरेको तथ्य फेला परेको छ । खरेलले केरियरलाई समेत झुक्याएर अन्य सामान्य औषधी रहेको बताएर पठाउने गरेका छन् ।
खरेलले लागुऔषधजन्य प्रतिबन्धित औषधिको कारोवार गरेर नै बिर्तामोडमा करोडौको घर घडेरी र गाडी जोडेको तथ्य फेला परेको छ । प्रहरीकै सेटिङमा बर्षौबाट यस्ता गैह्कानुनी धन्दा चलाउनेलाई समान्यतया सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा चलाउने चलन छ ।
तर, यो घटनामा प्रहरीले कुन–कुान मुद्धामा अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले बिर्तामोडकै धर्मकाटाँ रोडमा सनलाईट फर्मा नामक औषधिको थोक बिक्रि गर्दै आएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागुऔषधजन्य औषधीको कारोबार गर्ने गरेको स्थानियले बताए ।
के हा ट्रामाडोल ?
ट्रामाडोल एक प्रकारको एनाल्जेसिक हो जुन गम्भीर पीडा कम गर्न डाक्टरको प्रिस्क्रिप्शनमा मात्र प्रयोग गरिन्छ । यो एक ओपिओइड एनाल्जेसिक हो । यसले ओपिओइड रिसेप्टरहरूसँग बाँधेर र मस्तिष्क कोषहरूमा पीडा संकेतहरूको प्रसारणलाई रोकेर काम गर्छ । यसले पीडाको धारणालाई रोक्छ र राहत प्रदान गर्दछ ।
यसले शल्यक्रिया पछिको दुखाइ, फ्याक्चरबाट हुने दुखाइ, जलेको चोटपटक, र अन्य समान आघातहरूको उपचार गर्न मद्दत गर्दछ । यो अन्य गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिहरूले दुखाइको उपचार गर्न असफल भएपछि मात्र दिइन्छ ।




































