
काठमाडौं : नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन्।
राजधानी काठमाडौंका धेरै जसो विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन्। त्यस्तै काठमाडौँ बाहिर पनि धेरै विद्यालयले बिदा दिएपछि अध्ययन प्रभावित बनेको हो।
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर्न भन्दै आज देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको हो।
उसले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको भन्दै आफुहरु आन्दोलनमा रहेको बताएको छ।






































