
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरूलाई अवमूल्यन गर्ने र त्यसलाई केही होइन भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् । गणेशमान सिंहको २८ औं पुण्यतिथिमा बिहीबार आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राप्त गरिएका अधिकारहरूलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । जेन जीको प्रदर्शनको आडमा विराटनगरस्थित कोइराला निवास, काठमाडौंको चाक्सीबारीस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार र संसद भवनलगायतका सरकारी सम्पत्तिमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग उनले राखे । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि उनले चेतावनी दिए । यसमा सरकार र राजनीतिक दलहरू सतर्क हुनुपर्ने उनको भनाइ छ ।
नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ । अहिलेको वर्तमान परिस्थितिमा जुन अब जेन जीको प्रदर्शन भयो । सबै भयो । अब यो आन्दोलन भयो, तर विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रीब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ । यसमा राम्रोसँग छानबिन गरेर यो अनडेमोक्रेटिक प्रोसेसहरू जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’
नेता सिंहले लोकतान्त्रिक पद्धतिमा जनताले चित्त नबुझाएका कुराहरू सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनले बताए । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको उनको भनाई छ ।





































