
मंगलबार काठमाण्डौ उपत्यकालगायत केही ठाउँमा छोटो समयमा ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डौको सुन्दरीजलमा १ घण्टामै ३६ मिलिमिटर वर्षा मापन भयो ।
यस्तै नैकापमा १ घण्टामा २१ मिलिमिटरभन्दा धेरै वर्षा भयो । पर्वतको पन्चासेमा पनि १ घण्टामा झन्डै २४ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्ला दिनहरूमा कुनै निश्चित ठाउँमा छोटो समयमा धेरै पानी पर्ने क्रम बढेको छ । त्यसरी पानी पर्दा नजिकै पानी नपरेको पनि हुन सक्छ । मौसमविद्हरु जलवायु परिवर्तनले यस किसिमको खण्ड वृष्टि बढाएको बताउँछन् ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ, चितवन, कास्की, पाल्पा, कैलाली, बैतडीलगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको छ । तर मौसम पूर्वानुमान महाशाखाका अनुसार बाढी तथा पहिरोको चेतावनी जारी गर्नुपर्ने गरी कतै पनि वर्षा भएको छैन ।
मंगलबार राति कोशी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले नेपालमा मनसुनी प्रणाली उल्लेख्य रूपमा सक्रिय रहेको छैन ।





































