जोडिनुहोस
  • होमपेज
  • शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती

शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती

काठमाण्डौको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा पछिल्ला २० दिनदेखि यात्रुले सास्ती भोग्नुपरेको छ । विभिन्न माग राखेर शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलन शान्तिपूर्ण नै भए पनि हरेक दिन सडक प्रभावित हुँदै आएको छ । जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

पिक आव अर्थात् कार्यालय समयमा सडक अवरुद्ध हुँदा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतले समस्या भोग्नुपरेको छ । भक्तपुरको लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोड कार्यालय पुग्नुपर्छ । अरू बेला आधा घण्टामा पुग्ने गरेकोमा हिजोरआज सवा एक घण्टाभन्दा धेरै लाग्ने गरेको उहाँको गुनासो छ । आन्दोलन छिटो सकिए राहत हुने दाहाल बताउनुहुन्छ ।

पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । ट्राफिक प्रहरीलाई सडक व्यवस्थापन मुख्य समस्या बनेको छ । अस्ति वैशाख ६ गतेसम्म दिनमा दिउँसो १२ देखि ३ बजेसम्म विरोध गर्दै आएका शिक्षकहरूले हिजोदेखि समय तालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रुलाई सास्ती भएको छ । माइतीघरदेखि तीनकुनेसम्म पैदलै हिँड्नुपर्ने बाध्यता छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यातायात प्रभावित भएको छ भने व्यवस्थापनमा पनि कठिन भएको छ ।

उहाँका अनुसार बानेश्वर–माइतीघरमा शिक्षकहरू जम्मा हुँदा गाडीलाई विभिन्न क्षेत्रबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ । मुख्यगरी तीनकुने, रणोद्वीप, कृष्ण पाउरोटीलगायतका क्षेत्रबाट डाइभर्सन गरिएको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने गाडीलाई क्य मा सञ्चालन गरिएको छ ।

कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चावहिल, सोह्रखुट्टे, लैनचौर, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने गाडी पनि ुक्युु मै चलेको प्रहरीको भनाइ छ ।

देशका विभिन्न जिल्लाबाट काठमाण्डौ केन्द्रित भएका शिक्षकहरूका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाण्डौमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरूलाई हम्मेहम्मे परिरहेको छ भने केही शिक्षकहरू आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरूले कहिले गीत गाएर त कहिले कवितामार्फत आफ्ना माग राखिरहेका छन् । उनीहरूले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरूको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।

विभिन्न भागबाट काठमाण्डौ आएका शिक्षकहरूका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र शुरू हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षकहरू आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरूले आन्दोलन अघि बढाएको उहाँ बताउनुहुन्छ । सरकारले शिक्षकहरूलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरू भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् ।

धेरै टिप्पणी गरिएका