
काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवसको ११ औँ संस्करण मनाउन काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० सहर र नगरपालिकाहरूमा विभिन्न आकर्षक कार्यक्रमहरूको आयोजना गर्यो ।
यस वर्षको “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने विषयवस्तु अनुरूप अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ७५ दिन अगावै भारतीय राजदूतावासले मिति २०८१ चैत्र २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन सहितको एक शुभारम्भ कार्यक्रमको आयोजना गर्यो । भारतीय सेनाका पूर्व सैनिकहरूको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले मिति २०८२ वैशाख १९ गते काठमाडौँस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गर्यो ।
त्यस्तै अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन २५ दिन अगावै गत जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो जसमा नेपाली सेनाका कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
भारतीय राजदूतावासले काठमाडौँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरू क्रमशः पशुपतिनाथ मन्दिर (मिति २०८१ चैत्र २५) ; काठमाडौँ दरबार स्क्वायर (मिति २०८२ जेठ २३) ; बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (मिति २०८२ जेठ २६) ; चाँगुनारायण मन्दिर (मिति २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (मिति २०८२ जेठ ३१) मा योग आसन प्रदर्शन आयोजना गर्यो । यी कार्यक्रमहरूमा योगमा अभिरुचि राख्नेहरू र भारतीय डायस्पोराका सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो । पाटन दरबार स्क्वायरमा आयोजित योग प्रदर्शनमा नेपाली सेलिब्रेटीहरु, स्थानीय अधिकारीहरू, बासिन्दाहरू र भारतीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।
त्यस्तै गत जेठ ३० गते काठमाडौँको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौंका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो । परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित सही किसिमको खान्की अँगाल्न विद्यार्थीहरूलाई प्रेरित गर्दै कार्यक्रममा “सात्त्विक आहारका फाइदाहरू“ बारे एक अन्तर्दृष्टिपूर्ण व्याख्यानसहितको प्रस्तुति देखाइएको थियो । यसका साथै भारतीय राजदूतावासले मिति २०८२ असार १ गते काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । कार्यक्रममा इसिमोड र काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङ जिल्लामा असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै भारतीय राजदूतावासले पोखराको तीन प्रमुख स्थलहरूमा योग प्रदर्शनहरू सञ्चालन गरेको थियो: अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यु पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्यहरू देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूप ।
योगको उत्सवलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले असार ६ गते पोखराको फेवा तालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यान सत्रको आयोजना गर्यो । ५०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले मानव चेतनालाई प्रकृतिसँग जोड्ने योगको गहन क्षमतालाई प्रकाश पारेको थियो ।
असार ६ गते भारतीय राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहत स्तरको योग प्रदर्शन आयोजना गर्यो जसमा ५०० भन्दा बढी योगमा अभिरुचि राख्नेहरूको सहभागिता थियो । उक्त कार्यक्रममा लुम्बिनीका माननीय प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालका माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी उपस्थिति हुनुहुन्थ्यो ।
लुम्बिनीका प्रदेश प्रमुखले आफ्नो सम्बोधनमा भगवान् बुद्धको पवित्र जन्मस्थलमा अर्थपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्दै भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न यसको महत्वलाई स्वीकार गर्नुभयो । राजदूत नवीन श्री वास्तवले योगको विश्वव्यापी आकर्षण तथा स्वस्थ, सचेत र दिगो जीवनशैलीलाई बढवा दिन यसको महत्त्वपूर्ण भूमिकामाथि जोड दिनुभयो । नेपालका माननीय युवा तथा खेलकुद मन्त्रीले पनि कार्यक्रम आयोजना गरेकोमा र योग मार्फत कल्याण र एकताको भावनालाई प्रवर्द्धन गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्नुभयो ।
सन् २०२५ मा नेपालमा भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा असार ७ गते पोखराको रङ्गशालामा आयोजित भव्य योग प्रदर्शन थियो । उक्त कार्यक्रममा त्यस क्षेत्रभरिका ७००० भन्दा बढी योग अभ्यासकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो र साथै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि यसमा सहभागी हुनुभएको थियो । माननीय मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा पोखरामा यति उल्लेखनीय स्तरमा अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्नुभयो । उहाँले योगले भारत र नेपालबिचको स्थायी र प्रगाढ सांस्कृतिक सम्बन्धको अभिन्न पक्षलाई प्रतिनिधित्व गर्ने कुरामा जोड दिनुभयो ।
राजदूत नवीन श्री वास्तवले दुई राष्ट्रहरूबिच अर्थपूर्ण सांस्कृतिक सेतुको रूपमा योगको भूमिकामा जोड दिनुभयो र नेपालमा योग पर्यटनलाई थप प्रवर्द्धन गर्न यहाँको प्रमुख पर्यटकीय स्थलहरूमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने सम्भावनामाथि प्रकाश पार्नुभयो । पोखराका मेयरले यस्ता पहलहरू मार्फत पोखरालाई नेपालको पर्यटन केन्द्रको रूपमा स्थापित गर्न राजदूतावासले गरेको सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमहरू आयोजना गर्यो ।
स्वास्थ्य तथा कल्याणका लागि योग र समग्र पहलहरूप्रति कृतज्ञता जनाउँदै भारतीय राजदूतावास नेपालसँग जनता–जनताबिचको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई बढवा दिनको लागि प्रतिबद्ध रहेको काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।









































