
कर्णाली। हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशअन्तर्गत भेरी करिडोरमा रहेका हुलाक कार्यालयहरूको अवस्था बुझ्न व्यापक अनुगमन गरेको छ।
निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेको नेतृत्वमा गएको टोलीले जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानका जिल्ला तथा स्थानीय तहका हुलाक कार्यालयको अनुगमन–निरीक्षण गरेको हो। हुलाक सेवालाई छिटो, छरितो, भरोसायोग्य र व्यवस्थित बनाउनकै उद्देश्यले अनुगमन गरिएको निर्देशक पाण्डेले बताए।
जाजरकोटमा जिल्ला हुलाक कार्यालयसँगै नलगाड नगरपालिका, दल्ली, सटही काउन्टर, शिवालय गाउँपालिका र छेडागाड क्षेत्रका स्थानीय हुलाक सेवाको स्थलगत अवलोकन गरिएको थियो। भूकम्पबाट क्षति पुगेर पुनर्निर्माण भइरहेका जाजरकोट जिल्ला हुलाक कार्यालयको भवन पनि निरीक्षण गरिएको छ।
डोल्पामा टोलीले जिल्ला हुलाक कार्यालयसँगै त्रिपुरासुन्दरी नगरपालिकास्थित स्थानीय कार्यालयहरूको सेवा प्रवाह, भौतिक संरचना, डाँकरेखा तथा जनशक्ति व्यवस्थापनबारे अध्यययन गर्यो। रुकुमपश्चिमका आठबीसकोट नगरपालिका राडीज्युला, सानीभेरी गाउँपालिका सिम्ली तथा चौरजहारी नगरपालिकाका हुलाक कार्यालय पनि अनुगमनमा समेटिएका थिए।
सल्यान जिल्लामा वनगाड कुभिण्डे नगरपालिका देवस्थल (सल्लीबजार), कुमाख गाउँपालिका राँगेचौर, सिद्धकुमाख गाउँपालिका ढौरचौर र बागचौर नगरपालिका स्थित हुलाक कार्यालयको सेवा स्थिति मूल्यांकन गरिएको थियो। साथै रुकुमपूर्व रुकुमकोटमा डाँक आदानप्रदान प्रणालीबारे समन्वय तथा अन्तरक्रियात्मक छलफल गरिएको निर्देशक पाण्डेले बताए।
“हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त राख्दै आधुनिक सूचना–प्रविधि समाहित गर्न आवश्यक पूर्वाधारबारे गहन छलफल गरियो,” निर्देशक पाण्डेले भने। “यसले देखिएका समस्या समाधान र हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याउनेछ।”
अनुगमनका क्रममा कार्यालयको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी प्रणाली तथा सरकारी–गैरसरकारी निकायसँगको समन्वय अवस्थाबारे मूल्यांकन गरी सम्बन्धित कार्यालयलाई सेवा विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिइएको छ। साथै, हुलाकले प्रदान गर्ने सेवाबारे जनस्तरमा प्रचार–प्रसार गर्न पनि सुझाव दिइयो।
अनुगमन टोलीमा निर्देशक पाण्डेसँगै अनुगमन शाखाका प्रमुख नारायणप्रसाद तिमिल्सेना र निर्देशनालयका अन्य कर्मचारी सहभागी थिए।





































