
काठमाडौँ। काठमाडौँ उपत्यकाका नदीमा तैरिने फोहर नियन्त्रण गर्ने उद्देश्यले वाग्मती नदीसहित विभिन्न स्थानमा ‘ट्रास बेरियर’ जडान सुरु गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यो व्यवस्था लागू गरेको हो।
गुह्येश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने वाग्मती नदीका गोकर्ण ब्यारेज, तिलगङ्गा आँखा अस्पताल क्षेत्र, वाग्मती–मनोहरा दोभान, युएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी जम्मा छ स्थानमा ट्रास बेरियर राख्ने कार्य भइरहेको छ। यसका लागि करिब ६५ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको समितिले जनाएको छ।
सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई अवरुद्ध नगरी एक निश्चित स्थानमा जम्मा गराउनेछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीमा सहरीकरण र अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहर बग्ने समस्या देखिँदै आएको छ।
ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित व्यवस्थापन गरिनेछ। यसबाट नदी प्रदूषण न्यूनीकरण हुनुका साथै नदीको सौन्दर्य वृद्धि, जलचर संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नदीको बहावलाई अवरोध नगर्ने गरी जडान गरिने ट्रास बेरियरमा रबर कन्भेयर बेल्ट र तैरिने संरचना रहनेछ। पानीको सतह घटबढसँगै ट्रास बेरियरको उचाइ पनि आफैं समायोजन हुने भएकाले बाढीको जोखिमसमेत नबढ्ने समितिले जनाएको छ।




































