
काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई प्रमुख आयोग — वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्य पदका लागि यसपटक १११ जनाको नाम सिफारिसमा परेको छ। सिफारिस समितिको सचिवालयले वैशाख ८ गतेको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो।
स्रोतका अनुसार यीमध्ये ८२ जना व्यक्तिगत रूपमा र २९ जना संस्थागत सिफारिसमार्फत प्रस्तावित भएका छन्। आवेदकहरूमा पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, मानवअधिकारकर्मी, समाजशास्त्रीदेखि जिल्ला तहका कानुनविद् सम्मका नाम समावेश छन्।
मन्दिरा शर्मा, लिलादेवी गड्तौला, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतका नाम दुवै आयोगको अध्यक्ष पदमा सिफारिस छ । यस्तै प्रा. डा. विष्णु पाठक र अच्युत प्रसाद भण्डारीले आ–आफ्नो तर्फबाट अध्यक्ष पदमा आवेदन दिएका छन्
संस्थागत सिफारिसबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीको नाम चर्चामा छ । २०७९ साउनदेखि यी आयोगहरू पदाधिकारीविहीन छन्। यसअघि पनि सिफारिस समितिले राजनीतिक सहमति नजुट्दा नाम दिन असफल भएको थियो। अहिले पुनः गठित समितिमा ओमप्रकाश मिश्र संयोजक छन् भने खम्मबहादुर खाती, डा. अर्जुनबहादुर कार्की, स्टेला तामाङ, र लिली थापा सदस्य छन्। अघिल्लो चरणमा अनुमति बिना सिफारिस भएको भन्दै अस्वीकार गरेका केही व्यक्तिहरू योपटक पुनः नाममा परेका छन्, जसले प्रक्रिया थप चासोको विषय बनेको छ।





































